उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणः अमेरिका विरुद्ध आक्रमणको आशंका

अमेरिकासम्म प्रहार गर्ने परमाणु अस्त्रको निर्माणमा कोरिया

अमेरिका । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरुका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही बेरमा नै विष्फोट भएको थियो।
यसअघि यसै महिनाको शुरुमा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण विफल भएको थियो ।

पछिल्लो परीक्षण प्योङयाङबाट उत्तरमा पर्ने प्योङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शनिबार बिहान गरिएको दक्षिण कोरियाले जनाएको छ ।

परीक्षण गरिएको भनिएको क्षेप्यास्त्रको प्रकृतिबारे थाहा नभएपनि उक्त क्षेप्यास्त्र परीक्षणका कारण युद्ध हुन सक्ने र अमेरिका विरुद्ध आक्रमण समेत हुन सक्ने आशंका गरिएको छ ।

क्षेप्यास्त्र परीक्षण पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा लेखेका छन्–‘उत्तर कोरियाले आज गरेको क्षेप्यास्त्र परीक्षण असफल भएपनि त्यसले चीन र उसका सम्मानित राष्ट्रपतिको चाहनालाई अपमान गरेको छ ।’

तर उक्त विषयमा अहिलेसम्म उत्तर कोरियाले कुनै पनि प्रतिक्रिया दिएको छैन । दक्षिण र उत्तर कोरिया दुवैले सैन्य अभ्यासहरु जारी राखिरहँदा कोरियाली प्रायद्वीपमा हालैका दिनमा तनावका घटनाहरु बढिरहेका छन ।

उत्तर कोरियाले लामो दुरीसम्म मार हान्ने क्षेप्यास्त्रमा जोडेर अमेरिकासम्म प्रहार गर्न सक्ने परमाणु अस्त्र विकास गर्ने प्रयास गरिरहेको बताइएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका छन ।

चीन र रुसले आफुमाथि हुनसक्ने बल प्रयोगका विरुद्ध रणनीति तयार गरेका छन भने चिनियाँ विदेशमन्त्री वाङ यीले वार्तालाई पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । त्यसैगरि रुसका उपविदेशमन्त्रीले सैन्य समाधान पूर्ण रुपमा अस्वीकार्य हुने बताउँदै आएका छन् । एजेन्सी