जेब्राक्रसबाट बाटो नकाटे दुई सय जरिवाना

काठमाडौंँ । ‘हर्न’ निषेधित क्षेत्रपछि अब काठमाडौंँ उपत्यकामा जथाभावी बाटो काट्ने यात्रुलाई जरिवाना गरिने भएको छ।

जेठ १ गतेदेखि जथाभावी बाटो काटेमा पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए ।

जथाभावी बाटो काट्ने पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना हुने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गरिने जानकारी उनले दिए ।

प्रमुख लामाले विभिन्न दुर्घटनामा परी मृत्यु हुनेमा ४० प्रतिशतको सडक दुर्घटनामा मृत्यु हुने जानकारी दिए । जेब्राक्रसबाट बाटो नकाट्नेलाई जरिवाना गर्नुअघि तयारी स्वरूप प्रहरीले पैदल यात्रीलाई फुटपाथबाट हिँड्न लगाउने, जेब्राक्रसिङको महत्वबारे चालकलाई सचेत गराउने, आकासे पुलको प्रयोग अनिवार्य गर्ने लगायत सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ ।

ट्राफिक नियमको पालना गर्नाले शान्त र सुरक्षित यातायात सेवाका साथै जनजीवनलाई पनि सुरक्षित बनाउने भएकाले यस नियमको पालना गर्न जरुरी रहेको महानगरीय प्रहरी प्रमुख भण्डारीले बताए । यो समाचार आजको गोरखा पत्रमा प्रकाशित छ ।