स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन शिक्षकबाट धमाधम राजीनामा

कर्मचारी राजनीतिमा इच्छुक

रसुवा । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि यहाँका विद्यालयका शिक्षकले धमाधम आफ्नो पदबाट राजीनामा दिन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारी शुकदेव सापकोटाका अनुसार राजीनामा दिने शिक्षकमा पुरुषोत्तम पौडेल, कामी नर्बु तामाङ र अर्जुन देवकोटा हुन । उनीहरुले राजनीतिमा भाग लिने आशय दिँदै राजीनामा पत्र बुझाएको जिशिअ सापकोटाले बताए ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–४ को दफा १३ को उपदफा (ग) को पालना गर्दै निर्वाचनमा भाग लिन आफ्नो पदबाट राजीनामा दिएको ती शिक्षकको भनाइ छ ।

राजीनामा दिने शिक्षक पौडेल नयाँ शक्ति पार्टी, तामाङ नेकपा (एमाले) र देवकोटा नेकपा (माओवादी केन्द्र) समर्थक रहेको बताइएको छ । रासस