संयुक्त विद्यार्थी संगठनहरुद्धारा शिक्षा विभागमा तालाबन्दी
माग पुरा नभए सरकारी गाडी संचालनमा अवरोध गर्ने चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यलयमा हिजो संयुक्त विद्यार्थी संगठनहरुको बसेको बैठकले माध्यमिक तहसम्मका निजी विद्यालयहरुले चर्को शुल्क बढाएको भन्दै त्यसको विरोधमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन ।
यसअघि केही निजि विद्यालयहरुले अभिभावकको ढाँड सेक्नेगरी शुल्क बढाएको शिक्षामन्त्रालयलाई जानकारी गराउदा पनि नियन्त्रणको लागि कुनै पहल नभएको हुँदा विद्याथीहरु आन्दोलन गर्न बाध्यता भएको उनीहरुले बताएका छन ।
बिहिबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले पन्ध्र गते शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गर्ने, १७ गते शिक्षामन्त्री, शिक्षामन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका संचालकहरु (प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरु) समेतलाई वहिष्कार गर्ने र १८ गते सरकारी सवारी साधन संचालनमा अवरोध गर्ने निर्णय गरेको छ ।
उक्त आन्दोलनमा अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, नेविसंघका अध्यक्ष नैन सिंह महर, अखिल अध्यक्ष नविना लामा, रा.प्र.वि.संघका अध्यक्ष राजिव लामिछाने, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, नयाँ शक्ति विद्यार्थी युनियनका विवेक ओली, अखिल क्रान्किारीका महासचिव दिपेन्द्र चलाउने र अनेरास्ववियु अध्यक्ष(पाँचौ) घनश्याम मिश्र लगाएतले समर्थन जनाएका छन ।