प्रहरी जवानसँग आफूहरुको व्यक्तिगत दुश्मनी नभएको माओवादीको दावी

भारत । भारतीय माओवादीले छत्तिसगढको सुकमा जिल्लामा २५ जना जवान मारिएको दुई दिनपछि आफूहरुको दुश्मन प्रहरी जवानसँग नभएको जनाएको छ । आफूहरु हिंसामा विश्वास गर्ने समुह नभएको पनि माओवादीले दाबी गरेको छ ।

भारतीय माओवादीले सञ्चारमाध्यममा मृतक प्रहरी जवानको शवलाई समेत क्षतिपुर्र्याएको खबर आएपनि त्यसको खण्डन गरेको छ । भारतीय सञ्चारमाध्यमले जवानको शवमाथि समेत दुरव्यवहार भएको र गुप्तांगसमेत काटिएको दाबीसहित समाचार सार्वजनिक गरेका थिए ।

भाकपा (माओवादी) का दण्डकारन्य स्पेशल जोनल कमिटिका प्रवक्ता विकल्पले बिहीबार आफ्नो वक्तव्य जारी गर्दै चिन्तागुफा सीआरपीएफका जवानमाथि भएको हमला ११ मार्चमा सुकमा जिल्लाको भेज्जीमा १२ जना जवान मारिने गरी भएको हमलाको निरन्तरता भएको जनाएका छन् ।

उनले बस्तरमा माओवादीको शवमा प्रहरीले हरेक पटक दुरव्यवहार गर्ने गरेको आरोप समेत लगाएका छन् । महिला माओवादी छापामारको शवमा अश्लील तस्बिर बनाउने र भिडियो समेत बनाएर सामाजिक सञ्जालमा प्रशारित गर्ने गरेको उनको आरोप छ ।

सशस्त्र बलका जवान व्यक्तिगत रुपमा आफूहरुको दुश्मन नभएको उल्लेख गर्दै माओवादीका प्रवक्ता विकल्पले उनीहरुलाई अन्तिम वर्गदुश्मनको रुपमा आफूहरुले नहेरेको पनि बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।