चुनाव बिथोल्ने सरकारको योजना: एमालेको दावी

स्थानीय तहको सङ्ख्या पुनरावलोकन धाँधलीपूर्ण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताएका छन ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उनले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाए ।

दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो ।

“दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना हो ।” अध्यक्ष ओलीले भने–‘फिर्ता भइसकेको संविधान संशोधन विधेयक पुनः ल्याइनु पनि निर्वाचन र राष्ट्रहितविरोधी हो र एमालेलाई निर्वाचन विरोधी भनेर प्रचार गरिएको छ ।’

उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराइसक्नुपर्छ भन्दै त्यसबीचमा प्रतिनिधिसभाको निर्वाचन नभए राजनीतिक र संवैधानिक सङ्कटमा जाने र निर्वाचन गराउन गैरदलीय सरकार बनाएको जस्तो विगतको घटना दोहोर्याउने प्रयास भइरहेको दाबी गरे । रासस