राष्ट्रपति ट्रम्पको योजना लागु भएनः संघीय न्यायाधीश विलियमद्धारा रोक्न आदेश

फ्रान्सस्किले सवा १ अर्ब र सान्टा क्लाराले पाउनुपर्ने पौने २ अर्ब डलर खतरा मुक्त

अमेरिका । आप्रवासीहरुलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने अमेरिकी राष्ट्रपति ट्रम्पको विशेष योजनालाई त्यहाँका एक जना न्यायाधीशले रोकिदिएका छन्।

राष्ट्रपति ट्रम्पको उक्त योजनालाई सान फ्रान्सस्किस्थित संघीय न्यायाधीश विलियम ओरिकले रोक्ने आदेश दिएका हुन् ।न्यायाधीश विलियमको उक्त आदेश प्रति ह्वाइट हाउसले क्रुद्ध हुँदै बहुलट्टीको संज्ञा दिएको छ।

सान फ्रान्सस्कि र सान्टा क्लारा काउन्टीले राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध मुद्दा हालेका थिए । उक्त मुद्दामा मंगलबार न्यायाधीश ओरिकाले एउटा अस्थायी निषेधाज्ञा जारी गर्दै अदालतबाट छिनोफानो नभइञ्जेल राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भने ।

राष्ट्रपतीय आदेश अनुसार आप्रवासन अधिकारीहरुसँग समन्वय नगर्ने शहर तथा नगरहरुलाई केन्द्रबाट दिइने आर्थिक सहायता रोक्ने व्यवस्था गरिएको थियो ।

ट्रम्पको योजनाका कारण सान फ्रान्सस्किले केन्द्रबाट पाउनुपर्ने झण्डै सवा १ अर्ब डलर र सान्टा क्लारा काउन्टीको हकमा करिब पौने २ अर्ब डलर खतरामा पर्ने सम्भावना हालका लागि टरेको छ । एजेन्सी