जोखिमयुक्त घर भत्काउन सरकार र घरबेटी मौन

काठमाडौँ । भूकम्पले लखेटिरहेको वेला मापदण्डविपरीतका घर भत्काउन सरकार र घरबेटी कस्सिएका थिए, तर अहिले सबै मौन छन् ।

काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् ।

सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् ।

असनः असनको गल्ली निकै साँघुरो छ । खचाखच घरहरू छन् । स्थानीय किरण श्रेष्ठको घरको टुप्पो टाढैबाट देखिन्छ । धरहराको झल्को मेटाउने उक्त घर बनेको जमिन भने एक आना मात्रै छ ।

नियमअनुसार १२ फिटसम्मको चौडा घर तीन तलाभन्दा अग्लो बनाउन पाइँदैन । वा, घरको चौडाइको साढे दुई गुणाभन्दा अग्लो घर निर्माण गर्न नपाइने प्रावधान छ ।

सुन्धाराः सुन्धारामा एउटा नौतले भवन छ । टेकप्रसाद गौचनको सो भवन करिब साढे दुई आनामा मात्र निर्माण भएको छ । १२ वैशाख ०७२ मा जब भूकम्प गयो, दुई महिना गौचनको घरमा कोही पनि बसेनन् ।

न्युरोडः न्युरोडमा अवस्थित बाराही ज्वेलर्स रहेको घर पनि उस्तै छ । सात तला अग्लो सो घर निकै सानो क्षेत्रफलमा बनेकोे छ । घरका छेउछाउमा थुप्रै घर टाँसिएर बनेका छन् ।

बागबजारः बागबजारमा बाँसको झल्को दिने आठतले घर छ । उक्त जग्गाको क्षेत्रफल डेढ आनाभन्दा बढी देखिँदैन । होचा घरहरूबाट घेरिएको छ, त्यो बाँस घर ।

गोंगबुः गोंगबुमा भूकम्पले ठूलो क्षति पुर्यायो । दर्जनौँ घर भत्कन पुगे । तर, अझै पनि गोंगबुमा सानो क्षेत्रफलमा अग्लो घर बनाउने क्रम रोकिएको छैन ।

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन ।

घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसवेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।