विद्यार्थीहरुद्धारा संयुक्त आन्दोलन घोषणाः भोली देशभरका शिक्षा कार्यालय घेराउ

तत्काल शुल्क घटाउन माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुको बैठकले कक्षा १ देख १० सम्मका निजी विद्यालयहरुले चर्को शुल्क बढाएको भन्दै त्यसको विरोधमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन ।

यसअघि केही निजि विद्यालयहरुले अभिभावकको ढाँड सेक्नेगरी शुल्क बढाएको जनाउदै आफुहरुले त्यसलाई रोक्न शिक्षामन्त्रालयसँग माग गरेको भएपनि तीन दिनसम्म त्यस विषयमा नियन्त्रणको लागि पहल नभएको जनाउँदै विद्याथीहरुले आन्दोलन गर्न बाध्यता परेको बताएका छन ।

आज बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले भोली देशभरका जिल्ला शिक्षा कार्यलय घेराउ गर्नै, १३ गते चर्को शुल्क लिने निजी विद्यालयको लेखा र प्रशाशन शाखामा तालाबन्दी गर्नै र १४ गते प्याब्सन, एनप्याब्सनका सबै कार्यालयहरुमा तालाबन्दी गर्ने निर्णंय गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न सात विद्यार्थी संगठनहरुले आन्दोलनको अवधिमा चर्को शुल्क लिने विद्यालयहरुको अनुगमन समेत गर्ने जनाइएको छ । त्यसका साथै फागुन १८ गते सम्म स्ववियु निर्वाचन हुन नसकेका विभिन्न क्याम्पसहरुमा जेष्ठ मसान्तपछि निर्वाचन गराउने विषयमा त्रिविलाई ध्यानाकर्षण गराउने निर्णय गरेको समेत उनीहरुले बताएका छन ।

त्यसका साथै स्नाकोत्तर तहमा सेमेष्टर प्रणली आवश्यक भएपनि पुर्ण तयारी नगरी लागु गरिएकाले विद्यार्थीलाई समस्या भएको भन्दै उनीहरुले त्यो विषयमा पनि त्रिविको ध्यानाकर्ष गराउने भएका छन ।

संयुक्त विद्यार्थी संगठनले गरेका निर्णयहरुको विषयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल अध्यक्ष नविना लामा लगाएतले आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन ।

तराई मधेस विद्यार्थी फ्रन्ट, अनेरास्ववियु पाँचौँ, नेक्रावि संघ, अखिल छैटौं लगाएतका विद्यार्थीहरु संगठनहरुले उक्त आन्दोलनमा समर्थन जनाएका छन ।