चुनावी अभियान तीव्र बनाउँदै दलहरू

काठमाडौं । ठूला दलहरू चुनावी अभियानलाई तीव्र बनाउँदै गाउँ पस्न थालेका छन् । स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, सडक, विद्युत्, खानेपानी, औद्योगिक विकास, कृषि र व्यवस्थित सहरीकरणलाई सबैजसो दलले मुख्य एजेन्डा बनाएका छन् ।

तर, भूकम्प प्रभावित जिल्लामा भूकम्प प्रभावितका पीडा भने एजेन्डा बन्न सकेका छैनन् । मकवानपुरका २० हजारभन्दा बढी भूकम्प प्रभावित छन्, तर उनीहरू अधिकांशले अझैसम्म पनि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

दलहरूले आफूहरूलाई राहत दिने एजेण्डा ल्याउने उनीहरूको अपेक्षा थियो तर भूकम्प प्रभावितका विषय एजेन्डामै नपरेपछि उनीहरू निराश बनेका छन् ।

कांग्रेस जिल्ला सचिव आनन्द कठायतले औद्योगिक विकास, पारदर्शिता, जनपक्षीय नीति र कार्यक्रम आफूहरूको मुख्य एजेन्डा भएको बताए ।

कांग्रेस हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुलीले गाउँ–गाउँमा मिनी रंगशाला, पार्क, हरेक वडामा नमुना वस्ती निर्माण पार्टीको प्राथमिकता रहेको बताए ।

एमाले जिल्लाअध्यक्ष मुनु सिग्देलले मकवानपुर र खासगरी हेटौँडालाई शिक्षा र स्वास्थ्यको हब बनाउने विषय पार्टीको प्राथमिकता रहेको बताइन् ।

माओवादी केन्द्रबाट हेटौँडाको मेयर उम्मेदवार चयन भएका उपमहानगर इन्चार्ज बलराम बलले अटो भिलेजको अवधारणा, खानेपानी, सडक र दुई वर्षीय गुरुयोजना पार्टीको एजेन्डा रहेको बताए ।

राप्रपाबाट मेयर उम्मेदवार तोकिएका मधु अधिकारीले चक्रपथ निर्माण, अस्पतालको स्तरोन्नति र युवा रोजगार आफूहरूको एजेन्डा रहेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।