दुई चरणमै निर्वाचन गर्न एमाले लचिलो

काठमाडौंनिर्वाचनपछि बजेट ल्याउने गरी संविधान संशोधनबाट बाधा फुकाउन सरकार तयार भए दुई चरणमा निर्वाचनमा जान लचिलो बन्न सकिने एमालेको निष्कर्ष छ ।

दुई चरणमा निर्वाचन गर्ने कुरालाई विरोध गर्नुपर्छ भन्ने होइन । तर, सरकारले बजेट घोषणा के गर्छ भन्ने मुख्य सरोकारको विषय हो, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने–‘१५ जेठमा बजेट सार्वजनिक गरेर त्यसैलाई आधार मानेर मत माग्ने योजना हो भने हाम्रो समर्थन हुँदैन । निर्वाचन त्यसअगावै पनि गर्न सकिन्छ ।’

स्रोतका अनुसार निर्वाचन सकिएपछि मात्रै बजेट ल्याउने सर्तमा भने दुई चरणमै निर्वाचन गर्न एमाले लचिलो हुनेछ ।

स्रोतले भन्यो–‘दुई चरणमा निर्वाचनको विरोधी होइन, एमालेले पहिल्यैदेखि स्थानीय निर्वाचन माग गर्दै आएको हो । तर, ३१ जेठमा निर्वाचन गर्ने हो भने बजेटबारे सरकारको धारणा पहिले स्पष्ट हुने गरी ठोस प्रस्तावका रूपमा आउनुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ