पाल्पामा ट्रिपर खस्दा एकै घरका तीन जनाको मृत्यु

पाल्पा पाल्पामा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ ।

पाल्पाको झुम्साबाट मरेकतर्फ जाँदै गरेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ मा दुर्घटनामा परेको हो ।
कच्ची सडकखण्डमा अनियन्त्रित भएर ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका सइ प्रवीण आचार्यका अनुसार अर्को ट्रिपरलाई साइड दिन लाग्दा सो दुर्घटना भएको हो।

ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका २६बर्षका पुरन सारू, २४ बर्षकी उनकी श्रीमती बालकुमारी,पाँच वर्षीय छोरा हेमेस र २२ बर्षीय सहचालक प्रेमबहादुर कनौजे छन् । गम्भीर घाइते उनीहरूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।

पाल्पामा आइतबार नै रिद्दिकोट गाउँपालिका–७ चाचरीमा जिप दुर्घटना भएको छ । लु।१ज १५८१ नम्बरको जिप दुर्घटनामा स्थानीय दानबहादुर गाहाको मृत्यु भएको पाल्पा प्रहरीका सइ प्रवीण आचार्यले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।