अब केन्द्रमा आइजिपी र प्रदेशमा एआइजी राख्ने प्रस्ताव

३० वर्षे सेवाअवधिको प्रावधान हट्ने

काठमाडौँ । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।

मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राख्ने प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदा टुंगो लगाएको हो । आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो ।

यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए ।

संघीय संरचनामा गएलगत्तै नेपाल प्रहरीको ३० वर्षे सेवाहदको प्रावधान हट्ने भएको छ । मस्यौदामा आइजिपी, एआइजी र डिआइजीको उमेरहद ५८ वर्ष राखिएको छ । तर, पदावधि तोकिएको छैन ।

प्रहरीलाई संघीयतामा रूपान्तरण गरी ३० वर्षे सेवाहद हटाउँदा कसैको करिअरमा असर नपर्ने भएकाले सबैजसो प्रहरीहरू ३० वर्षे सेवाहद हटाउनुपर्ने पक्षमा छन् ।

यसअघि प्रहरीको वृत्तिविकास तथा अवकाशसम्बन्धी प्रावधान नियमावलीमा रहेकाले अबदेखि ऐनमै प्रावधानहरू प्रस्ट पार्न लागिएको गृहका एक अधिकारीले बताए ।