तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने आयुक्त डा. यादवको दावी

जुनसुकै समस्याको पनि समाधान गर्न आयोग तत्पर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दावी गरेका छन । उनले चुनावको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् ।

आज प्रमुख आयुक्त डा.यादवले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै तोकिएको मितिमा स्थानीय निकायको चुनाव सम्पन्न हुने र जुनसुकै समस्यामा पनि चुनाव नसर्ने दाबी गरेका हुन् ।

उनले भने–‘यदि कुनै विषम परिस्थितिमा निर्वाचन सार्नु परेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मात्र निर्णय गर्नु पर्दछ । आयोगले पूर्णरुपमा चुनावको तयारी गरि सकेको छ ।’

आयोगले वैशाख ३१ गतेको चुनावको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको बताउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना समेत नरहेको उनले बताएका छन ।

आयोगले निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानमा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको उनले बताए ।