स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाः प्रधानमन्त्री

तोकिएकै समयमा स्थानीय तहको चुनाव सम्पन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने बताएका छन ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीबीच प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा उनले त्यसतो बताएका हुन ।

नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको जानकारी समेत दिएका छन ।

तोकिएकै समयमा स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गरिने जानकारी दिँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे ।

भेटमा सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उत्साहवद्र्धक रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोंच सकारात्मक रहेको बताए ।

सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको बताउँदै त्यसका लागि प्रधानमन्त्री प्रचण्डको विशेष देन रहेको समेत उल्लेख गरे ।

नेपालको आर्थिक विकासमा अमेरिका सधैं सकारात्मक र सहयोगी रहने बताउँदै सिनेटरहरुले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् भन्ने अमेरिकाको सदीक्षा रहेको जानकारी दिए ।