आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु

काठमाडौँ । निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने–‘जिल्लाहरूमा मतपेटिका र मतदानसँग सम्बन्धित सामग्रीहरू पठाउने क्रम सुरु भएको छ,‘केही दिनभित्र सबै सामग्री पुगिसक्नेछन् ।’

२५ जिल्लामा पुग्यो मतपेटिका: निर्वाचन आयोगका अनुसार अहिलेसम्म २५ जिल्लामा मतपेटिका पठाइसकिएको छ । विशेषतः टाढा र दुर्गम मानिने कर्णाली, सुदूरपश्चिमाञ्चलका केही जिल्ला र हिमाली जिल्लामा मतपेटिका पुगिसकेको आयोगले जनाएको छ ।

धमाधम पठाइँदै यी सामग्री:  ७ सय ४४ स्थानीय तहका लागि आवश्यक पर्ने ८४ हजार मतपेटिका आयोगले धमाधम जिल्ला पठाउन सुरु गरेको छ । आयोगसँग ५४ हजार मात्रै मतपेटिका रहेकोमा अपुग ३० हजार एनआइटी कम्पनीमार्फत चीनबाट ल्याएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतपेटिका सुरक्षित रूपमा कार्यालयमै वा जिल्लास्थित प्रहरी कार्यालयमा राख्नेछ । त्यस्तै, निर्वाचनसम्बन्धी निर्देशिका, नमुना मतपत्र, उम्मेदवार मनोनयनको फाराम, बुकलेटलगायतका सामग्री पनि धमाधम जिल्ला पठाउने काम सुरु भएको आयोगका प्रवक्ता शर्माले बताए ।

१२ गते मतदान अधिकृतको कार्यालय स्थापना भइसक्ने:  निर्वाचन आयोगले १२ वैशाखमा एकैदिन ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने जनाएको छ । आयोगले गत ३ वैशाखमा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो ।

७५ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले एकैदिन बाँकी ६ सय ६९ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

मतदाता परिचयपत्र छपाइ अन्तिम चरणमा:  आयोगले मतदाता परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता शर्माले भने–‘लगभग सबै जिल्लाको मतपत्र छापिइसक्यो भन्दा पनि हुन्छ, २७ गतेबाट मतदान केन्द्रहरूबाट परिचयपत्र वितरणको काम सुरु हुनेछ ।’ देशभरि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।

मतदाता शिक्षा स्वयंसेवी:  निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्तालाई खटाइसकेको छ । एकजना स्वयंसेवी कार्यकर्ताले कम्तीमा सात सय र बढीमा हजारजनालाई प्रशिक्षित गर्नेछन् ।

वैशाख सुरुदेखि उनीहरू उक्त अभियानमा खटिएका हुन् । मतदान केन्द्रमा खटिने कर्मचारीलाई वैशाख तेस्रो साताबाट तालिम दिएर सम्बन्धित केन्द्रमा खटाउने आयोगको योजना छ ।

२१ हजार मतदान केन्द्र तय:  निर्वाचन आयोगले २१ हजार मतदान केन्द्र तय गरिसकेको छ । केन्द्रको अन्तिम सूचीसमेत आयोगले प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ ।

व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ छैनः प्रमुख आयुक्त यादव: निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले व्यवस्थापकीय दृष्टिकोणले निर्वाचनको तयारीमा कुनै प्रश्न गर्ने ठाउँ नरहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले गाउँ–गाउँमा निर्वाचनको उच्चस्तरीय तयारी भएको बताए ।

जापानी नियोग संस्था (जाइका)सँगको सहकार्यमा पत्रकारिता विभागले गरेको कार्यक्रममा यादवले सबै दल निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनको रिपोर्टिङमा प्रेस स्वतन्त्रताको उपयोग गर्दा यसको संवेदनशिलतालाई समेत ख्याल गर्न यादवले आग्रह गरे ।

उनले भने–‘चुनावको वातावरण बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेलेको छ ।’ केन्द्रीय पत्रकारिता विभाग प्रमुख प्रा। चिरञ्जीवी खनालले पूर्वाग्रहविना रिपोर्टिङ गर्नुपर्ने बताए । यो समाचार आजको नयाँ  पत्रिका दैनिकमा प्रकाशित छ ।