दर्जन बढी राजनितिक दलद्वारा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

बाल अधिकारको पूर्ण संरक्षणमा जोड

नेपालगन्ज । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको कुनै पनि गतिविधिहरुमा बालबालिकाहरुको प्रयोग नगरी उनीहरुको अधिकारको पूर्ण रुपमा संरक्षण र प्रबर्धनका लागि बाँकेका एक दर्जन बढि राजनैतिक दलहरुले हस्ताक्षर मार्फत प्रतिबद्धता व्यक्त गरेका छन् । 

जिल्ला बालकल्याण समिती बाँकेको आयोजनामा शुक्रवार नेपालगन्जमा सम्पन्न बालअधिकार संरक्षण र प्रबर्धनका लागि राजनैतिक दलसँगको सम्बाद र छलफल कार्यक्रममा सहभागि राजनितिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

जिल्ला बाल कल्याण समिती बाँकेका संयोजक एवम बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका एक दर्जन बढी दलका नेताहरुले मौखिक र लिखित दुबै रुपमा बालअधिकारको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।