संशोधन प्रस्तावका विषयमा भोली सत्तारुढ दल र मोर्चाबीच छलफल हुने

निर्वाचनबारे मोर्चा सकारात्मक

काठमाडौं । सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा भोली दिउँसो सत्तारुढ दल र मोर्चाबीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा आज बालुवाटारमा बसेको सत्तारुढ दल र मधेशी मोर्चाबीचको संयुक्त बैठकले संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउनका लागि भोली पुनः बैठक गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको छ ।

सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर भोली दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउन प्रयास गर्ने छन ।

उक्त बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएमा मोर्चाका नेताहरु पनि स्थानीय तहको निर्वाचनमा सकारात्मक वातावरण बनाएर सहभागी हुने सरकारले विश्वास गरेको छ ।