संविधान संशोधन प्रस्तावमा पूनर्विचार गर्न मोर्चाको आग्रह

सरकार र मोर्चाबीच बेलुका ५ बजे पुन बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको हो ।

बैठकमा प्रधानमन्त्रीले सरकारद्घारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरेका छन ।

मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन ।

प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुन बैठक बसेर सहमतिको प्रयास गर्ने बैठकमा जानकारी गराएका छन ।

संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुन बैठक हुनेछ ।