संयोजक भट्टराई र अध्यक्ष यादवद्धारा संयुक्त प्रेस विज्ञप्ति

पार्टी एकता संयोजक समिति गठन

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ती निकालेका छन ।

नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता खिमलाल देवकोटाले हरपल नेपालसँग कुरा गर्दै भने–‘हामीले नयाँ पार्टी एकता संयोजक समिति गठन गरेका छौँ, अब बाँकी कामको अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली नयाँ मितिले नै गर्ने छ, भने पार्टी एकताको मिति पनि उक्त समितिबाट नै टुङ्गो लगाउँने छ ।’

उक्त समितिमा नयाँ शक्तिले रामचन्द्र झाको नेतृत्वमा देवेन्द्र पौडेल, परुशराम खापुङ र खिमलाल देवकोटा संवाद समिति बनाएको छ भने संघीयसमाजवादी फोरमबाट वार्तामा राजेन्द्र श्रेष्ठ, लालबाबु राउत र हेमराज राई रहेको प्रवक्ता देवकोटाले बताए ।

उक्त विज्ञाप्ती यस्तो छ–‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’