समृद्ध राष्ट्र बनाउन काँग्रेसले जित्नुपर्छः महामन्त्री कोइराला

राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको भएको दावी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताएका छन ।

आज प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताएका हुन।

महामन्त्री डा कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गरे ।

उनले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाही गरिने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरुको सहमति आवश्यक रहेको छ भने ।

उनले भने– ‘संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबैलाई समेटेर अगाडि बढ्ने मुख्य दायित्व काँग्रेसको हो ।’

स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका थापाले काँग्रेसले वैशाख १० गतेदेखि प्रचारप्रसारको कामलाई तीव्रता दिने बताए।

काँग्रेसका सांसद सकलदेव सुतियारले स्थानीयस्तरमा जनतासँग भिजेको व्यक्तिलाई टिकट नदिए निर्वाचनमा काँग्रेसले जित्न नसक्ने धारणा राखे। उनले भने–‘मधेसी दललाई समेटेर निर्वाचनमा जानुपर्छ । रासस