मधेसवादी पाँच दलबीच एकता, पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने

आज दिउँसो १ बजे औपचारिकरुपमा पार्टी एकता हुँदै

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध पाँचदलबीच एकता हुने भएको छ । आज दिउँसो एक बजे एकताको औपचारिक घोषणा गरिने भएको छ ।

एकीकरण हुन लागेका पार्टीहरुले नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राख्ने सहमति गरेको एक नेताले हरपल नेपालसँग बताए ।

मोर्चाका शीर्ष नेताका अनुसार आज दिउँसो करिब १ बजेदेखि ३ बजेसम्म अमृत भोगमा पार्टी एकताको औपचारिक घोषणा हुने भएको छ ।

पार्टी एकता प्रकृयामा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक सहभागी हुने बताइएको छ ।

उक्त एकतामा मोर्चामा रहेका सात दलमध्ये पाँच दलबीचमा मात्र एकीकरण हुन लागेको छ, जसमा संघिय समाजवादी फोरम नेपाल र अनिलकुमार झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी भने एकतामा नजाने भएका छन ।

मोर्चाका नेताहरुबीच बुधबार राति अबेरसम्म भएको वार्तामा एकीकरण पछि पार्टीको नाम, नेतृत्व, नितिबारे सहमति भइसकेको एक नेतमले बताएका छन ।

उक्त सहमति अनुसार पार्टी एकतापछि साझा अध्यक्ष मंडल बन्ने छ, जसको बरियतामा महत्न ठाकुर पहिलो अध्यक्ष हुनेछन । त्यसैगरि पार्टीको चिन्ह र झन्डा ‘छाता’ रहने छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय गरेको छ ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक मान्नेमा सहमति भएपनि त्यसपछिको बरियतामा कुरा मिलेको छैन ।एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ ।

एकता हुने दलमध्ये सद्भावना सबैभन्दा पुरानो पार्टी हो, जुन २०४७ सालमा स्थापना भएको थियो । अन्य पार्टीहरु भने २०६२ २०६३ जनआन्दोनसँगै स्थापना भएका हुन । एकीकरणको निर्णयमा पुगेका पार्टीहरुसँग २२ जना संसद रहेका छन ।