मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्नेः संसद्का पाँच दलको निर्णय

चुनावको तयारी अन्तिम चरणमा

काठमाडौ । संसद्का पाँच ठूला दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा सहमतिमा आउँछ भने दुई चरणमा चुनाव गर्ने नभए वैशाख ३१ गते नै जसरी पनि चुनाव गर्ने बताएका छन ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले चुनावमा सहभागी गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग लचिलो भएर प्रस्तुत हुने तर सहमति नभए चुनाव नसार्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री दाहालको उक्त धारणामा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए ।देउवाले पनि बैठकमा वैशाख ३१ को चुनाव कुनै पनि हालतमा नरोकिने भन्दै मोर्चा सहमतिमा आउने हो भने दोस्रो चरणमा प्रदेश नम्बर २ र अरू कुनै प्रदेशमा चुनाव गराउन सकिने धारणा व्यक्त गरेका छन।

चुनावको मिति नजिकिँदै गर्दा मधेसी मोर्चाले चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरे पनि संसद्का चार ठूला दलले मोर्चा नआए पनि वैशाख ३१ मै चुनाव गर्ने प्रतिबद्धता गरेका हुन् ।

सरकार र निर्वाचन आयोगले पनि वैशाख ३१ का लागि घोषणा भएको चुनावको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

चुनावका विषयमा देखिएको अन्योलतालाई स्पष्ट पार्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा फारेम लोकतान्त्रिकबाहेक कांग्रेस, एमाले, माओवादी र राप्रपाले मोर्चाको अवरोधका बीच पनि वैशाख ३१ को चुनाव नरोक्ने औपचारिक धारणा राखेका हुन् ।यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।