राष्ट्रपति भण्डारीको भारत भ्रमण पूर्ण सफल भयोः मन्त्री महत

भारतको सबै पक्ष र राजनीति तहबाट सम्मान

काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण सफल भएको बताएका छन् ।

भारतले उच्चतहको सम्मान गरेको र भेटमा भएको छलफलबाट भ्रमण निकै उपलब्धिपूर्ण रहेको उनले बताए ।नेपाली बहसमा दिल्लीबाट ऋषि धमलासँग कुराकानी गर्दै उनले नेपालको विकासका भारतले पूर्ण साथ दिएको बताए ।

मन्त्री महतले भने–‘राष्ट्रपति भण्डारीले नेपालको सबै सन्दर्भको जानकारी दिनुभयो, भारतको साथ सहयोग आबश्यक छ तपाईको प्रयासमा भारतको साथ छ भनेपछि अरु कुनै भन्नुपर्छ भन्ने छैन, भारतीय राष्ट्रपति प्रवण मुखर्जीले अपेक्षा अनुसारको नै उत्तर आएको पनि जानकारी दिए । सबैलाई समेटेर लैजान उनको आग्रह रहेको बताए ।’

राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयन, निर्वाचन र विकासका बारेमा जानकारी गराएको र भारतको सहयोगको अपेक्षा गरेको जानकारी गराएपछि भारतको नेतृत्वका तर्फबाट साथ रहने प्रतिवद्धता आएको बताए । नेपालको लोकतन्त्र, विकासमा साथ छ भनेपछि संविधानमा पनि साथ छ छुट्टै भन्नु जरुरी नभएको बताए ।

भारतको सबै पक्ष र राजनीति तहको उच्चतहबाट उच्चतहको सम्मान पाएको उनले बताए । उनले औपचारीक भ्रमणको मूल कार्यक्रम नयाँ दिल्लीमा सकिएकाले आफु नयाँ दिल्लीबाटै फर्किन लागेको जानकारी दिए ।