स्याङ्जामा एक लाख ९१ हजार मतदाता

कुल १९ दल निर्वाचनमा सहभागी हुने

स्याङ्जा । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लाका एक लाख ९१ हजार दुई सय ५३ जना मतदाताले मत खसाल्ने छन् ।

जिल्लामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या १२ हजार एक सय ६४ ले बढी छ ।

नयाँ पुनर्संरचनाअनुसारको पाँच नगरपालिका र ६ गाउँपालिकामा महिला एक लाख एक हजार सात सय आठ र पुरुष ८९ हजार पाँच सय ४४ मतदाता छन् भने एक जना तेस्रोलिङ्गी छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने आठ दल तथा संसद् बाहिरका ११ गरी कुल १९ दल यस पटकको निर्वाचनमा सहभागी हुने बताइएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल रहेको स्याङ्जा जिल्लामा स्थानीय निकायको निर्वाचनमा १० वटा मतदानस्थल थप गरी एक सय ९९ वटा पु¥याइएको छ ।

स्थानीय निकायको निर्वाचनमा सहभागी हुने अधिकांश दलमा आकाङ्क्षीको सङ्ख्या धेरै रहेकाले उम्मेदवारको टुङ्गो समयमै लगाउन दललाई कठिनाइ भएको छ भने कतिपय ठाउँमा महिला उम्मेदवार भेटाउन मुस्किल भइरहेको छ । रासस