पारिजातको जन्मघर हुँदै नेपाल–भारत काव्य उत्सव सम्पन्न

यो पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम भएको दावी

काठमाडौँ । भारत, दार्जिलिङ जिल्लाको लिङ्यिाको एक पुरानो चियाकमानका बीचमा अवस्थित साहित्यकार पारिजातको जन्मघरको भ्रमण गर्दै बिजनबारी पुगेको नेपाली साहित्यकारको प्रतिनिधिमण्डलले बिजनबारीमा ‘नेपाल भारत काव्य उत्सव’ सम्पन्न गरेको छ ।

जरा फाउन्डेसन नेपालले आयोजना गरेको सो भ्रमण र उत्सवलाई भारततर्फबाट बिजनबारीस्थित प्रतिभा प्रेरणा परिषद् तथा सिक्किमको चियाकविता संस्थाले संयोजन गरेका थिए ।

नेपालका विभिन्न जिल्ला तथा भारतको पश्चिम बङ्गाल र सिक्किम प्रान्तका कवि कलाकार सम्मिलित उक्त कार्यक्रममा सत्र कविता, दुई गायकका गीति प्रस्तुति तथा एक नृत्याङ्गनाको नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ मातृका पोखरेलले नेपाल र भारतका नेपालीभाषी सर्जकबीचको निकै पुरानो र बलियो सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता अन्तर्देशीय उत्सव आवश्यक रहेको बताए ।

भारतका नेपालीभापी कवि मनप्रसाद सुब्बाले बिजनबारीमा यस्तो अन्तर्राष्ट्रिय शैलीको कार्यक्रम त्यो नै पहिलो भएको बताए ।

फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईँले आगामी दिनमा पनि यस प्रकारका अन्तर्देशीय उत्सवलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

युवा समालोचक तथा फाउन्डेसनका महासचिव महेश पौड्यालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य छ भन्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतका पक्षमा साहित्य रचना, समावेशी र विचलन लेखन, सडक समूह, चियाकविता तथा हस्तक्षेप कविताआन्दोलत सो भेगका मौलिक योगदान भएको बताए ।

कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै प्रवीण राई जुमेली, सुधाएम राई, टीका आत्रेय, अबिर खालिङ, लीला अनमोल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दीपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश दाहाल आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो भने गायक खेम सुब्बाले गीत तथा रुसालीले नृत्य प्रस्तुत गरेका थिए । रासस