सभापति देउवाले भोली मोर्चाका नेतासँग छलफल गर्दै
चुनावमा मोर्चाको धारणा बुझ्न छलफल
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसँग भोली छलफल गर्ने भएका छन् ।
सभापति देउवानिकट स्रोतका अनुसार बैठकमा आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनप्रति मधेशी मोर्चाको धारणा बुझ्न सभापति देउवाले आन्दोलनरत मोर्चासँग छुट्टै छलफल गर्ने लागेका हुन । तर देउवा र मोर्चा नेताहरुको भेटघाटको समय भने टुंगो नभैसकेको जनाएको छ ।
नेपाली कांग्रेसको केही दिनअघि कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग बसेको बैठकमा उनीहरुले संविधान संशोधन नगरी दुई नम्बर प्रदेशमा चुनाव गराउन गाह्रो हुने सभापति देउवालाई सुझाव दिएका थिए ।
पार्टी भित्रका सांसदले पनि संविधान संशोधन नगरी चुनाव गर्न नहुने सुझाव दिएपछि सभापति देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका देउवा निकट सा्रेतले जनाएको छ ।
सरकारले मधेसी मोर्चाका माग सम्बोधन गर्ने भन्दै यसअघि संसदमा दर्ता गरेको संविधानको दोस्रो संशोधन प्रस्ताव फिर्ता गरेर नयाँ संशोधन प्रस्ताव दर्ता गर्दा पनि मोर्चाले भने आफ्ना माग पूरा नहुने र स्थानीय निर्वाचन बिथोल्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।