प्रधानमन्त्रीले पाँच दलका नेतासँग बैठक गर्दै: समसामयिक राजनीतिक विषयमा छलफल

निर्वाचनबारे समान धारणा बनाउन आग्रह

काठमाडौ । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले आज पाँच दलका शीर्ष नेताहरुसँग विभिन्न राजनीतिक विषयमा छलफल गर्ने भएका छन ।

उक्त बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको हो । बैठकमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम र प्रतिपक्षी एमालेका लगाएतका शीर्ष नेताहरु उपस्थित हुने छन।

प्रधानमन्त्री सचिवालयका अनुसार उक्त बैठकमा प्रधानमन्त्री दाहालले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनबारे समान धारण बनाउन सबै राजनीतीक दलहरुलाई आग्रह समेत गर्ने भएका हुन ।

साथै सत्तारुढ दलका नेताहरुले मधेसी मोर्चा सहभागी हुने भए चुनाव दुई चरणमा गर्दा पनि हुने सार्वजनिक अभिव्यक्ति दिइरहेको र एमालेले त्यसलाई चुनाव सार्ने चालबाजी भनिरहेका बेला प्रधानमन्त्री दाहालले प्रतिपक्षीसहितका प्रमुख दलका नेतासँग छलफल गर्न लागेका हुन् ।

अहिले आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनले चुनाव बिथोल्ने भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।