राप्ती नदीमा पौडी खेल्दा गोहीले आक्रमण

गोहीले चपाएपनि बाँचे अर्जुन

चितवन । चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक सकुशल फुत्किएका छन ।

हामीले ठुलठुला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ ।

गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक फिर्ता भए । अहिले उनी उपचाररत छन् ।

गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझैँ चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए ।

अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । गोही लेउले ढाकेर बसेको थियो ।

“म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो,” सम्झँदै अर्जुन भन्छन्–‘ देब्रे हातमा समाएर तीनचोटि पछार्यो । त्यसलगत्तै पानीमुनि लग्यो ।

सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । ‘यो हात त सबै पड्यापुडुक भा छ’ गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।

यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो ।

मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो । अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए ।

गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन–‘बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो ।’ एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो ।

गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन्–‘टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्को हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।’

भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ ।

गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने । अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् । रासस