सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सुरक्षा निकाय पूर्णतःसक्षम रहेको सुरक्षा निकायको भनाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन ।

मङ्गलबार चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन ।

प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा स्थितिबारे जानकारी लिँदै यही वैशाख ३१ गतेका लागि घोषित स्थानीय निर्वाचनका लागि ‘बलियो’ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुएका हुन ।

प्रधानमन्त्रीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा सुरक्षा अङ्गका प्रमुखहरूले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए। गोरखापत्र