कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ करोड भत्ता

काठमाडौं । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐन कानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ ।

सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ ।

तर, ऐन/नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष ०७२/७३ मा अतिरिक्त समय काम गरेको भन्दै प्रतिदिन प्रोत्साहन भत्ता र खाजा तथा खाना भत्ता बुझेको भेटिएको हो ।

सरकारी खर्चको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले विद्यमान ऐन/कानुनविपरीत संसद्का कर्मचारीले झन्डै १२ करोड रुपैयाँ भत्ता बुझेको भन्दै असुलउपर गर्न निर्देशन गरेको छ ।

महालेखा परीक्षकको कार्यालयका प्रवक्ता रामुप्रसाद डोटेलले भने–‘सरकारी ढुकुटीबाट खर्च हुने र वार्षिक बजेटमा समेटिएका सबै रकम खर्च गर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्छ, कुनै पनि नियन्त्रणकारी निकाय अर्थ मन्त्रालय वा मन्त्रिपरिषद्बाट अनुमोदन नगरी खर्च गरेको देखिएको छ, त्यो गम्भीर आर्थिक अपारदर्शिता हो ।’

संसद् सचिवालयले नियमित कार्यालयको दिन अतिरिक्त समय काम गरेको भन्दै दैनिक ६ सय र बिदाको दिन काम गरेको भन्दै ६ सय ५० रुपैयाँ दैनिक भत्ता वितरण गरेको भेटिएको छ ।

सोही प्रयोजनका लागि प्रोत्साहन भत्ता भनेर बिदाको दिन ७ सय ५० र नियमित सरकारी कामको दिन ६ सय रुपैयाँ भत्ता दिइएको छ ।

अतिरिक्त समयको खर्च र प्रोत्साहन भत्ता एउटै प्रयोजनका लागि बाँडिएको छ । तर, त्यही प्रयोजनका लागि दुवै भत्ता संसद् सचिवालयका कर्मचारीले कानुनी बाटो अवलम्बन नगरी बुझेको भन्दै महालेखाको प्रश्न गरेको हो ।

अर्थ मन्त्रालको कार्यसञ्चालन निर्देशिका २०७० को परिच्छेद ७ मा नियमितबाहेक विशेष कामका लागि दैनिक दुई घन्टाभन्दा बढी अतिरिक्त समय काम गर्ने कर्मचारीलाई खाजा वा खाना खर्चबापत २ सय ५० प्रतिदिन र बिदाको दिन ५ सय उपलब्ध गराउन र प्रोत्साहन भत्ता लागू भएका कार्यालयमा त्यो सुविधा दिन नपाउने स्पष्ट प्रावधान छ ।

संसद्का कर्मचारीले अतिरिक्त समयको खर्चमा अघिल्लो वर्ष ५ करोड २८ लाख २४ हजार ६ सय र प्रोत्साहन भत्ता ५ करोड २८ लाख २५ हजार गरी कुल ११ करोड ९२ लाख २५ हजार विविध खर्च शीर्षकबाट भुक्तानी लिएका छन् ।

अर्थ मन्त्रालयका एक सहसचिवले भने–‘अर्थ मन्त्रालयको पूर्वस्वीकृतिविना यस्तो भत्ता लिनै पाइँदैन, त्यसमा पनि एउटै कामका लागि दुई शीर्षक बनाउनु झन् गम्भीर लापरबाही हो ।’

अतिरिक्त समय काम गरेबापत खाना, खाजा भत्ता र प्रोत्साहन भत्ता बुझेका संसद् सचिवालयका कर्मचारीले आ–आफ्ना कार्यालयको ढोकामै रहेको विद्युतीय प्रणालीको मेसिनमा हाजिर गरेको भने देखिएको छैन ।

सचिवालयले विद्युतीय हाजिरी राखे पनि कर्मचारीले म्यानुअल रूपमा हाजिरी रजिस्टरमा हाजिर गर्ने गरेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले कर्मचारीको हाजिरी किन मेसनमा नगरी रजिस्टरमा गरियो भन्नेमा पनि गम्भीर गल्ती देखिएकोु ठहर गरेको छ ।

विद्युतीय प्रणालीको प्रयोग नगरी हाजिरी अभिलेख राखी अतिरिक्त समय कामबापत करोडौं रकम भुक्तानी गरेको रकमको विश्वसनीय हुने आधार देखिएनु, महालेखाको प्रतिवेदनमा भनिएको छ ।

महालेखाले संसद्का कर्मचारीले विद्युतीय मेसिनमा हाजिर नगरी अतिरिक्त समय काम गरेको देखाएर रकम बुझेको अनुमान गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।