उपत्यकामा पुनः स्वाइनफ्लु

काठमाडौँ । टेकूस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा पुनः स्वाइनफ्लु (इन्फुएञ्जा ए एचवन एनवन )देखिएको छ ।

गत महिना चैत ११ गते अस्पतालमा ज्वरो आई भर्ना भएका ४० वर्षीयलाई स्वाइनफ्लु पुष्टि भएको हो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गत फागुनमा एक जना बिरामीमा देखिएको स्वाइनफ्लु चैतमा भर्ना भएका अर्को बिरामीलाई पनि देखिएको जानकारी दिए।

डा. पुनले भने–‘चैत दोस्रो साता ज्वरो तथा छाती दुखेर अस्पताल भर्ना भएका एक जना बिरामीको परीक्षणपछि स्वाइनफ्लु भएको पुष्टि भएको हो ।’स्वाइनफ्लु सरुवा रोग भएकाले एक–अर्कालाई सर्न सक्छ, त्यसैले सतर्कता अपनाउनुपर्छ ।

वरिष्ठ फिजिसियन डा. शशी शर्माले निरन्तर खोकी लागिरहने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, घाँटी दुख्ने वा खस्खसाउने, १०–१५ दिनसम्म कडा ज्वरो आउने, पखाला लाग्ने भएमा स्वाइनफ्लु भएको हुनसक्ने जानकारी दिए ।

डा. शर्माले स्वाइनफ्लु सरुवा रोग भएकाले सार्वजनिक ठाउँमा मास्क प्रयोग गर्ने, खोक्दा रुमालले मुख छोप्ने, साबुनपानीले हातमुख धुने तथा झोलिलो खानेकुरा खानुका साथै स्वाइनफ्लु शङ्का लागेमा तत्काल चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउनुपर्ने बताए ।यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।