चुनावमा वडा सदस्यमा उम्मेदवार बन्न पाइने भएपछि श्रीमानसँग सम्बन्ध विच्छेद

श्रीमानले सौता ल्याएपछि सम्बन्ध बिग्रेको

विराटनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा वडा सदस्यमा उम्मेदवार बन्न विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारूसंग सम्बन्ध विच्छेद गरेकी छन ।

नागरिकतामा पतिकै थर भएकाले दलित महिला कोटामा चुनावमा उठ्न नपाइने भयो । त्यसैले औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि सम्बन्ध विच्छेद गरेको उनले बताएकी हुन ।

पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्ध विच्छेदपछि रिंकुदेवीपरिवारले ले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिइएकी छन ।

उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ ।

विराटनगर ११ मा अरू दलित महिला उम्मेदवारका आकांक्षी नभेटिएपछि पार्टीले परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उम्मेदवार उठाउने निश्चित भएको एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले बताए ।

स्थानीय सवदनारायण सरदार थारूसँग रिंकुदेवीको १८ वर्षअघि प्रेम विवाह भएको थियो । उनका दुई छोरा छन् । विवाह भएपछि उनीले पतिकै नाम र थरबाट नागरिकता लिएकी थिइन ।

पतिले ११ वर्षअघि कान्छी पत्नी भित्र्याएपछि दुईजनाबीच राम्रो सम्बन्ध थिएन । सम्बन्ध सुमधुर नभएपछि पतिसँग अलग्गै बस्दै आएको उनले बताइन । 

श्रीमानले सौता हालेपछि सम्बन्ध राम्रो हुन सकेन । हामी अलगअलग बस्दै आए पनि सम्बन्ध विच्छेद भने गरेका थिएनौुं, परिवारले भनिन–‘नागरिकतामा पतिकै थर भएकाले अहिलेको चुनावमा उठ्न नपाइने भइयो । अलगअलग भएपछि औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि उम्मेदवार उठ्न सम्बन्ध विच्छेद गरेकी हुँ ।’