राष्ट्रपति भण्डारीले आज मुखर्जी र मोदीसँग भेट्ने कार्यक्रम तय

नयाँदिल्ली । पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुगेकी छन । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति प्रमण मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नेछन ।

मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ ।

त्यसैगरी, नेसनलिस्ट कांग्रेसका नेता डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी, जनता दल युनाइटेडका नेता शरद यादवलगायत नेताले भेट गरेका छन्।

दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन–‘संसारभरका महिलाको व्यथा एउटै छ, महिला विभेदमै छन् । विश्वमा नेपाल मात्र त्यस्तो मुलुक हो, जहाँ संवैधानिक पद, राष्ट्रपति तथा सर्वोच्च अदालतसम्म महिला नेतृत्वदायी भूमिकामा पुगेका छन् ।’

राष्टपति भण्डारीले तीन तहको चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा प्रवासमा बसेका नेपालीको सहयोग र योगदान महत्वपूर्ण हुने बताइन ।

राष्ट्रपतिको सम्मानमा बारम्बार रोडस्थित दूतावास परिसरमा मञ्च बनाएर स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा भारतीय व्यवसायीको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्सद्वारा प्रायोजित ब्यानर दूतावासको मुख्यद्वारदेखि वरिपरिको वालमा टाँगिएको थियो ।

दूतावासको स्वीकृति लिएर सो ब्यानर टाँगिएको थियो । त्यसैगरी, वाइवाइ चाउचाउको ब्यानर पनि दूतावास परिसरको स्वागत मञ्चस्थलमा टाँगिएको थियो । यो ब्यानर राख्न दिएकोमा प्रवासी नेपालीले विरोध जनाएका थिए ।

मुलुकको राष्ट्रपतिको भ्रमणलाई व्यावसायिक बनाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका थिए । यो कदमको विरोधमा एमाओवादीको भ्रातृसंगठन अखिल भारतीय एकता मञ्चका सदस्यले कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, प्रवासी नेपाली संघका अध्यक्षलगायत केन्द्रीय सदस्य गोपाल थापालगायतको पहलमा ब्यानर हटाइएको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।