सम्पुर्ण तागत प्रयोग गरेर निर्वाचन सफल बनाउन गृहमन्त्रीको निर्देशन

निर्वाचन लक्षित गरी विशेष योजना तय भएको खुलासा

बाँके । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राज्यको सम्पुर्ण तागत प्रयोग गरेर स्थानीय तहको निर्वाचन सफल बनाउन निर्देशन दिएका छन ।

नेपालगञ्जमा आज मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय तहबाट निर्वाचन लक्षित विशेष सुरक्षा योजना बनाएर भएपनि निर्वाचन सफल बनाउनु पर्ने बताएका हुन।

गृहमन्त्री निधिले कार्यक्रममा बोल्दै मतदाता, उम्मेदवार, राजनीतिक दल, मतदान केन्द्र सुरक्षा प्रमुखहरु र निर्वाचनमा खटिने कर्मचारीलाई सम्पूर्ण क्षमता प्रयोग गरेर भएपनि निर्वाचन सफल बनाउनुपर्ने बताए ।

उनले असन्तुष्ट दलहरुलाई छलफल र वार्ताको माध्यमबाट निकास खोज्न आग्रह गर्दै निर्वाचन प्रकृयामा सघाउनु पर्नेमा जोड दिए ।
गृहमन्त्री निधिले मुलुकको पुनःसंरचनाका लागी हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैले सहभागिता जनाउनुपर्ने बताउँदै त्यहीबाट नागरिकका अधिकार सुनिश्चित हुने बताए ।

नेपालगञ्जमा जारी उक्त गोष्ठीमा जिल्लागत सुरक्षा अवस्थाको विषयमा प्रस्तुतीकरण गरिने र स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।