मुस्ताङको घोरेपानीमा पर्यटकको चहलपहल बढ्दै

चैत महिनामा आठ हजार ३३५ पर्यटक भित्रिए

मुस्ताङ । विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ ।

एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सदै गएका छन् ।

विस २०७२ मा १९ हजार ३४८ पर्यटक भ्रमणका लागि आएकोमा ०७३ मा ४५ हजार ६८५ पर्यटक भित्रिएको प्रहरी पर्यटक कार्यालय घोरेपानीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने घोरेपानी समुद्री सतहदेखि २८१० मिटरको उचाइमा अवस्थित छ ।

धौलागिरि, नीलगिरि र अन्नपूर्णलगायत दर्जन बढी हिमशृृङ्खला र पुनहिलबाट सूर्योदयको अवलोकन, पाहुनालाई आत्मीय सत्कार दिने स्थानीयको संस्कार र सुविधासम्पन्न होटलको व्यवस्थाका कारण घोरेपानी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

घोरेपानीमा एक दर्जन सुविधासम्पन्न होटल छन् । त्यसमा एकैरात ५०० जना बास बस्न सक्ने क्षमता छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुल हुँदै मुस्ताङ प्रवेश गर्ने र मनाङ भएर मुस्ताङको थोराङलापास हुँदै कास्की निस्कने पदयात्रीका लागि घोरेपानी मुख्य पर्यटकीय गन्तव्य हो ।

खोप्रालेक, घान्द्रुक र एबिसीजस्ता चर्चित गन्तव्यमा पुग्न पनि घोरेपानी हुँदै जान सकिन्छ । प्रहरी पर्यटक कार्यालय घोरेपानीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र महतले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै आठ हजार ३३५ पर्यटक भित्रिएका थिए ।

उनले भने–‘नव वर्ष २०७४ को पहिलो दिनमा झन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले बासै पाउने अवस्था थिएन्, कति पर्यटक त शिख र घान्द्रुकतिर गएका थिए, एक वर्षको अवधिमा दोब्बर पर्यटक भित्रिनु धेरै उत्साहजनक अवस्था हो ।’

एक्याप घान्द्रुक इलाका प्रमुख विदुर कुइँकेलले २०७३ मा एक्याप क्षेत्रमा उत्साहजनक पर्यटक भित्रिएको जानकारी दिए ।

०७३ सालमा बन्द हडताल पनि भएन । अन्तर्राष्ट्रिय क्षेत्रमा सकरात्मक सन्देश प्रभाव भएका कारण पर्यटकको उत्साहजनक उपस्थिति रहेको यनले बताए । रासस