निर्वाचन आयोगको काम तीब्रगतिमा

काठमाडौँ । स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले आफ्ना कामहरुको तयारी तीब्रगतिमा अगाडी बढाएको आयोगले जानकारी दिएको छ ।

१. मतदाता परिचयपत्र छपाइ:  निर्वाचन आयोगले मतदाता परिचयपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । आयोगका अनुसारका ६३ जिल्लाका मतदाताको परिचयपत्र छापिइसकेको छ । तिनमा लेमिनेसनलगायतका काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । देशभरि एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता छन् ।

२. मतपत्र छपाइ:  आयोगले ६६ जिल्लाका मतपत्र छपाइको काम सकेको छ । दुर्गम र थोरै जनसंख्या भएका जिल्लाको मतपत्र पहिला छापिएको आयोगको भनाइ छ । मतपत्र एक करोड ५४ लाखको हाराहारीमा छापिनेछन् ।

३. मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना:  निर्वाचन आयोगले आइतबार ७५ जिल्लामै जिल्ला न्यायाधीशको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मुख्य निर्वाचन अधिकृतले १२ वैशाखमा हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् ।

४. मतदाता शिक्षा स्वयंसेवी:  निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्तालाई खटाइसकेको छ । एकजना स्वयंसेवी कार्यकर्ताले कम्तीमा सात सय र बढीमा एक हजारजनालाई प्रशिक्षित गर्नेछन् । वैशाख सुरुदेखि उनीहरू उक्त अभियानमा खटिएका हुन् ।

५. मतदान केन्द्र तय:  निर्वाचन आयोगले २१ हजार मतदान केन्द्र तय गरिसकेको छ । केन्द्रको अन्तिम सूची प्रकाशन गर्न मात्रै बाँकी रहेको आयोगका प्रवक्ता शर्माको भनाइ छ । उनका अनुसार १० वैशाखसम्म टुंगो लाग्नेछ ।

६. ढुवानी पनि सुरु:  दुर्गम र टाढाका जिल्लामा निर्वाचन प्रचारप्रसारका सामग्री ढुवानी सुरु भइसकेको छ । आयोग प्रवक्ता शर्माका अनुसार १० वैशाखसम्म आवश्यक निर्वाचन सामग्री जिल्लामा पु¥याइसक्ने तयारी छ ।

७. छपाइ धमाधम: आयोगले उम्मेदवार फारामलगायतका छपाइका काम भइरहेको जनाएको छ । १६ वैशाखमा उम्मेदवारी दर्ता गर्ने दिन भएकाले आयोगले १० गते फाराम जिल्लामा पुर्‍याइसक्ने तयारी गरेको हो ।

८. सामग्री आउँदै:  चीन सरकारले उपलब्ध गराउने निर्वाचन सामग्री सोमबार चिनियाँ राजदूतले निर्वाचन आयोगलाई हस्तान्तरण गर्दै छ । त्यसैगरी, युएनडिपीले सात सय कम्प्युटर आयोगलाई उपलब्ध गराइसकेको छ ।

९. नीतिगत निर्णय सम्पन्न:  आयोगले आफ्ना तर्फबाट तयार गर्नुपर्ने सबै निर्देशिक तयार गरिसकेको छ । त्यसैगरी, निर्वाचन पर्यवेक्षणका लागि खटिने संस्थाहरूको अन्तिम नामावली तयार गर्दै छ ।

करिब ७० वटा संस्थाले पर्यवेक्षणका लागि निवेदन दिएका छन्, तर विदेशी संस्थाले अनुगमन र पर्यवेक्षण गर्न पाउँदैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।