गठबन्धन र मोर्चाद्धारा आन्दोलन घोषणा

वैशाख २७ देखि नेपाल बन्द गर्ने

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निर्वाचन नजिकिदै गर्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले आम हड्तालसहित अनिश्चितकालीन नेपाल बन्द आन्दोलनका कार्यक्रम गर्ने बताएको छ ।

आज पत्रकार सम्मेलन आयोजना गरी बसेको मोर्चाको बैठले माग पूरा नगरी सरकारले औपचारिकताका लागि निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै आन्दोलनका कार्यक्रम दुई पन्ने विज्ञप्तिमार्फत सार्बजनिक गरेका छन ।

यस्तै गठबन्धनले संघीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन नभई स्थानीय चुनाव हुन नसक्ने समेत दाबी गरेको छ ।

मोर्चाको विज्ञप्तिमा पुरानै संशोधन विधेयकलाईसंशोधन परिमार्जन पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुको मुद्दा सम्बोधन गर्ने र संविधानमा रहेका कमीकमजोरी, त्रुटि र विभेदकारी प्रावधानलाई सुधार गरी सच्याउनु पर्नेमा त्यसो नगरी पुन नयाँ संशोधन विधेयक ल्याइनु सरकारको गम्भीर भूल भएको दाबी गरिएको छ ।

गठबन्धन र मोर्चाले बैशाख २७ देखि अनिश्चितकालिन आमहड्ताल तथा नेपाल बन्दको कार्यक्रम आह्वान गरेको छ ।

सरकारले बैशाख ३१ को लागि स्थानीय तहको चुनावको मिति तोकेको अवस्थामा मोर्चाले आमहड्तालसहितको आन्दोलनको घोषणा गरेपछि निर्वाचनमा थप चुनौति देखिएको छ ।

मोर्चा र गठबन्धनले पत्रकार सम्मेलनमा घोषित गरेका आन्दोलनका उक्त कार्यक्रमहरुलाई निम्नअनुुसार प्रस्तुत गरीएको छ ।
१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश÷थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द