पाल्पामा पुरुषभन्दा महिला निर्वाचनप्रति सक्रिय बन्दै

पार्टीगत रुपमा नहेरी असल नेतृत्व छनोट गर्न आग्रह

पाल्पा । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् ।

यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् ।

सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन् ।

गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन् ।

महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।

रामपुरकी विष्णु घिमिरे आचार्य अहिले नेपाली काँग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा नेतृत्व गर्ने तयारीका साथ चुनावी प्रचारात्मक अभियानमा टोल, गाउँ, वडा र नगरभित्र जुटेकी छन ।

उनी आफूले उपप्रमुख पदको नेतृत्व गर्न पाएको खण्डमा महिलाका हरेक समस्या सम्बन्धित निकायमा पुर्याउने र महिला उत्थानका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाउँछन । उनी भन्छन–‘पार्टीगत रुपमा नहेरी असल नेतृत्वकर्ता योग्य उम्मेदवार छनोट गरेर मतदान गर्नुुपर्छ ।’

नेकपा (एमाले)को तर्फबाट नगरको उपप्रमुख पदमा होमिएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारमा गाउँ गाउँमा पुगेकी छन ।

महिला सधैँ पछाडि नै छन्, त्यसमा पनि जनजाति, दलित महिलाले कहिल्यै कुनै पनि स्थानमा नेतृत्व गर्ने अवसर नपाउँदा पछाडि परेको उनी बताउटन ।

उनले अबको निर्वाचनमा जनजातिको तर्फबाट आफूले नगरको उपप्रमुख पदमा नेतृत्व गर्ने दाबाका साथ चुनावी माहोलमा उत्रिएको बताइन ।

राष्ट्रिय जनमोर्चा अखिल क्रान्तिकारीको तर्फबाट नगरको उपप्रमुख पदमा कुन्तादेवी गैरे पनि उम्मेदवारी दिने तयारीका साथ प्रचारप्रसारमा लागेकी छन ।

उनी भन्छन–‘पहिला महिलालाई अवसर र परिवारबाट सहयोग नहुँदा महिला सधैँ पछाडि नै रहिरहे, नगरको नेतृत्व गर्न श्रीमान् र परिवारबाट राम्रो सहयोग मिलेकाले उम्मेदवारी दिने तयारीमा छु ।’

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ ।

नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको सङ्ख्या नै उल्लेख्य रहेको छ । रासस