नेपाली युवाले विश्व परिवर्तन गर्न सक्छन्ः डा. पुन

अब आर्थिक क्रान्ति पनि गर्नुपर्छ

काठमाडौँ । महिला विकास तथा महिला सशक्तीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा कार्यशाला गोष्ठीको यहाँ उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता डा. महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने–‘मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम मात्र होइन आर्थिक क्रान्ति पनि गर्नुपर्छ ।’ त्यसतै संस्थाकी अध्यक्ष मेलानी सेन्ट जेम्सले मुलुकको विकासका लागि युवा नै अगाडि बढ्नुपर्नेमा जोड दिइन । उनले भनिन–‘नेपालमा यस्ता युवा छन् जसले नेपाल मात्र होइन विश्वलाई समेत परिवर्तन गर्न सक्छन् ।’

एसिया फाउन्डेसन नेपाल शाखाका उपाध्यक्ष नन्दिता बुराहले नेपाली युवालाई सहयोग गरे उनीहरुले देश परिवर्तनका लागि महत्वपूर्ण कार्य गर्न सक्ने बताए ।

सशक्तीकरण कार्य नेपाल शाखाका अध्यक्ष अशोकराज पाण्डेले नेपालमा विभिन्न समयमा हुने सामाजिक कार्यले नेपाली युवा विदेश पलायन हुने क्रम घट्ने विश्वास व्यक्त गरे ।

गोष्ठीमा तथ्याङ्क व्यवस्थापन, महिला सशक्तीकरण, कृषिको मूल्य र सामाजिक समावेशिताका बारेमा जानकारी दिइएको थियो ।

पाँच दिनसम्म चल्ने उक्त गोष्ठीमा पाँच विकास क्षेत्रका महिलाको सहभागिता रहेको छ । रासस