आज ७५ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

६६९ निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ खोल्ने तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त ड. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिए ।

आयोगका सचिव गोपीनाथ मैनालीले कुरागर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा खटिएका मुख्य निर्वाचन अधिकृतहरू शनिबारसम्म सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए ।

जम्मा ७४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको नियुक्ति आयोगले गरिसकेको छ ।

आयोगले ६६९ जना निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ मा खोल्ने तयारी गरेको छ । उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य निर्वाचनको कार्यालय खोल्न सबै तयारी पूरा भएको जानकारी सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले दिएका छन् ।