मोर्चासहितको संघीय गठबन्धनले निर्वाचन विथोल्ने निर्णय

वैशाख ५ देखि ३१ सम्म विभिन्न ठाउँमा प्रदर्शन गर्ने

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले नयाँ संविधान संशोधन विधेयकको स्वामित्व नलिने अडान राख्दै स्थानीय तहका निर्वाचनको कार्यक्रम विथोल्नका लागि आन्दोलनमा जाने निर्णय गरेको छ ।

मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रम आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा शनिबार बसेको बैठकले आगामी वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा संघीय समाजवादी फोरम उपेन्द्र यादवसहित मधेसी मोर्चा र गठबन्धनका नेताहरु सहभागी थिए ।