शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको रिले अनशन सुरु

तानाशाही र अलोकतान्त्रिक व्यवस्था भएको भन्दै अनशन

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् ।

शनिबार बिहान काठमाडौंको रत्नपार्कस्थिति शान्ति बाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोध स्वरुप अनशनको सुरुवात गरेका छन ।

लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले घोर तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोध स्वरुप वैधानिक रुपमा दर्ता भएका सबै दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको माग सम्बोधन गरी चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् ।

शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले २५ र ३० वर्ष अघि यहि रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्न र कुनै पनि तानाशाहलाई टाउको उठाउन नदिने उद्देश्य राखेर शान्तिपूर्ण संघर्ष सुरु गरिएको बताउनुभयो ।

हिजोको लोकतान्त्रिक आन्दोलनमा लाठी बर्साउनेहरु आज सत्ताको मुख्य अंशियार भएको तर्क गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार पुनः जनताबाट खोसेर पुरानै व्यवस्थामा फर्काउने धृष्टता गरेको आरोप लगाए ।

संयोजक भट्टराईले संविधानको दलीय अधिकार सम्बन्धी धारा २७० को उपधारा १ मा उल्लेख भएको व्यवस्थालाई जोड दिंदै दलीय प्रचारप्रसारमा व्यवधान खडा गर्ने गरी बनाइने जुनसुकै कानून र नियम स्वतः खारेज हुने व्यवस्था संविधानमा भएकोले यो चुनाव चिन्ह नदिने व्यवस्था स्वतः असंवैधानिक भएको बताए ।

सबैका असन्तुष्टिहरुलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै सबै जनता निर्वाचनमा सहभागिता हुने वातावरण नबनेसम्म देशमा शान्ति नहुने र शान्ति नभएसम्म विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै यो आन्दोलनको लक्ष्य त्यही प्राप्त गर्ने भएको संयोजक भट्टराईले बताए ।

उनले तीन ठूला दलले मिलिभगतमा देशको ढुकुटीको ब्रम्हलुट गरेको आरोप लगाउँदै चुनावको घोषणा भएयता देशभर भोजभत्तेरको श्रृंखला सुरु भएको र गाउँघरमा पैसाको खोलो बगाएको आरोप लगाए ।

लोकतन्त्रको सम्बद्र्धनका लागि सांकेतिक रुपमा रिले अनसन गरिएको बताउँदै दलहरुलाई संविधान बामेजिम निर्वाचन चिन्ह प्रदान नगरेर सबै चुनावमा सहभागी हुने वातावरण नबनेसम्म सरकारले अगाडि सारेका सबै निर्वाचनका गतिविधिलाई अवरोध गर्ने उनले बताए ।

त्यस्तै अनशनमा सहभागि अन्य राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरंकुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण संघर्ष जारी रहने बताएका छन् ।