०७३ मा सेयर बजार, ६२९ अंकको उतारचढाव

काठमाडौँ । एक वर्षअघि २ वैशाखमा नेप्से परिसूचक १४ सय ५ अंकमा थियो । त्यसपछि लगातार बढेको नेप्से १२ साउनमा १८ सय ८१ अंकको कीर्तिमानी उचाइमा पुग्यो ।

यो उचाइमा नेप्से टिकिरहन सकेन र पुनः ओरालो लाग्न थाल्यो । १ फागुनमा १२ सय ५२ अंकमा झरेको नेप्से पुनः बढ्न थाल्यो ।

बिहीबार बजार बन्द हुँदा परिसूचक अघिल्लो दिनको तुलनामा ५ दशमलव ९४ अंक (शून्य दशमलव ३५ प्रतिशत) घटेर १६ सय ९७ दशमलव १३ अंकमा रोकिएको छ । यसरी गत वर्ष ६ सय २९ अंकको फराकिलो उतार–चढावमा नेप्से कुदिरह्यो ।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको पुँजी वृद्धि गर्ने विषयले ०७३ भरी नै सेयर बजारलाई तलमाथि पार्न सहयोग गरिरह्यो । मर्जरका विषय चर्चामा आए ।

हकप्रद, बोनस सेयरका विषय पनि बजार हल्लाउन सफल रहे । त्यस्ता समाचारले सेयर बजारलाई तलमाथि पारिरह्यो । यसमा नियामक निकायका पदाधिकारीले नै समय–समयमा प्रवाह गर्ने सूचनाले ठूलो भूमिका खेल्यो ।

नियमन निकायका प्रमुखले सम्भवतः नियतवश प्रवाह गरेका यस्ता सूचनाले कसैलाई लाभ र कसैलाई हानि भने पक्कै गरेको थियो ।

गत वर्ष सेयर बजारमा कालो धनको प्रयोगबारे बहस पनि तीव्र बढेको थियो । यसका यथेष्ट प्रमाण त भेटिएनन्, तर सेयर बजारमा कालो धनको प्रयोग बढेको छ भन्ने तर्कलाई अप्रत्यक्ष प्रमाणहरूले बलियो बनाए ।

खासगरी धितोपत्र बोर्डले कालो धन छानबिन गर्ने धोषणा गरेपछि बजार तीव्र दरमा घट्यो । अर्थमन्त्रीको निर्देशनपछि बोर्डले उक्त निर्णय फिर्ता लिनेबित्तिकै बजारमा अर्को उछाल देखियो । त्यसबीच आन्दोलनमै उत्रिएका लगानीकर्ता र ब्रोकरहरूले कालो धनको छानबिन गर्न नहुने माग गरेका थिए ।

अर्थतन्त्र १ प्रतिशतभन्दा कमको विस्तार हुँदा पनि नेप्सेमा झन्डै ५ सय अंकको वृद्धि देखिएको थियो । तर, एकाएक भारतमा त्यहाँको सरकारले चलनचल्तीमा रहेको ५ सय र १ हजार दरका नोट प्रतिबन्ध गरेपछि नेपाली सेयर बजारमा सबैभन्दा ठूलो प्रभाव पर्यो ।

आन्तरिक अर्थतन्त्रको खासै प्रभाव नपरेको सेयर बजार भारतमा नोटबन्दीपछि लगातार ओरालो लाग्यो र वर्षभरिकै न्यून बिन्दुमा आर्लियो । त्यतिञ्जेलसम्म नेपाली बैंक तथा वित्तीय संस्थाको तरलता अवस्था पनि संकटपूर्ण परिस्थितिमा पुग्यो ।

तरलता अभावमा पनि भारु विमौद्रीकरणले काम गरेको बैंकरहरूको भनाइ छ । यसरी बजारमा तरलता अभाव भएपछि बैंकहरूले सेयर बजारमा ऋण प्रवाह गर्न सकेनन् । त्यसपछि नेप्से ओरालो लाग्न थप सहयोग मिलेको थियो ।

गत वर्ष राजनीतिक घटनाक्रमले सेयर बजारलाई ठूलो असर पारेन । बरु, वर्षको अन्त्यतिर स्थानीय तहको निर्वाचनप्रति लगानीकर्ताको विश्वास बढ्दै जाँदा सेयर बजार उकालो लाग्न सहयोग मिलेको छ ।

बजार सूचकांक निकै तल्लो तहमा ९उच्च बिन्दुबाट ६ सय अंकभन्दा बढी० घटिसकेपछि लगानीकर्ता आशावादी देखिएका छन् ।

निर्वाचन भएमा ठूलो पैसा बजारमा आउने लगानीकर्ताको विश्वास छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाको तरलता समस्या समाधान भएर सेयरको धितोमा बैंकहरूले ऋण दिन थाल्ने लगानीकर्ताले आशा गरेका छन् ।

चैतपछि सरकारको खर्च त्यत्तिकै पनि बढ्ने गरेको छ । त्यसबाहेक निर्वाचनले राजनीतिक दलहरूद्वारा सञ्चित गरिएको हुन सक्ने पैसा बजारमा आउन सहयोग पुग्ने विश्वास गरिएको छ । कम्पनीहरूको नाफामा सुधार आउने देखिन्छ ।

अर्थतन्त्र फराकिलो अन्तरले बढ्ने सकारात्मक संकेत देखिएको छ । त्यसले पछिल्ला दिनमा नेप्सेमा पुनः सुधार आउन सहयोग पुगेको छ ।

वर्ष २०७४ मा नेप्सेका लागि १८ सय ८१ अंक बलियो प्रतिरोध हुन सक्छ । तर,लगानीकर्ताको मनोबल सुधार हुँदै गएकाले आगामी वर्ष यस्ता नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना प्रबल देखिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशि छ ।