नयाँ वर्षमा राष्ट्रपति र नेताहरूको शुभकामना

काठमाडौँ । नयाँ वर्ष ०७४ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन् ।

नयाँ वर्ष उपलब्धिमूलक वर्षः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमार्फत नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढोस् भन्ने शुभकामना दिएकी छिन् ।

लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिलेको प्रमुख कार्यभार भएकाले सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपेक्षा व्यक्त गर्दै उनले नयाँ वर्ष उपलब्धिमूलक वर्ष बन्ने अपेक्षा गरेकी छिन् ।

संविधान कार्यान्वयनमा कोसेढुंगा होस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७४ साल संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्–‘लगभग बीस वर्षको अन्तरालपछि ३१ वैशाख ०७४ मा नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाउँदै छन्, नयाँ संरचना र परिवर्तित शासकीय स्वरूपमा हुन गइरहेको निर्वाचन विगतको भन्दा धेरै अर्थमा फरक छ । यस ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा हार्दिक आह्वान गर्दछु ।’

संविधानले तोकेको समयसीमाभित्र संघ र प्रदेश तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको पनि उनले बताएका छन् ।

संघीयताको व्यावहारिक कार्यान्वयनः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले ०७४ नयाँ संविधानको पूर्ण कार्यान्वयन, स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन तहको सरकार निर्माण, संघीयताको व्यावहारिक कार्यान्वयन, नयाँ राष्ट्र प्रमुख, उपप्रमुखलगायतको चयनको वर्ष हुने अपेक्षा व्यक्त गरेका छन् ।

उनले स्थानीय तहको निर्वाचनका क्रममा देखिएको केही असन्तुष्टि, असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट हटाउँदै भयरहित वातावरणमा निर्वाचन गर्न गराउन सबै पक्षको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।

गणतन्त्रलाई संस्थागत गर्न निर्वाचनः सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत संविधान कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन ३१ वैशाखको निर्वाचनको ठूलो महत्व रहेको जनाएका छन् ।

देउवाले जनताको मतबाट बन्ने स्थानीय सरकार गाउँ(नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने भन्दै नयाँ वर्षको अवसरमा, देशभरका सम्पूर्ण बालिग नागरिकलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन पनि अपिल गरेका छन् ।

मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उनको भनाइ छ ।

नयाँ वर्ष समृद्धिको वर्षः रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष समृद्धिको वर्ष बन्ने विश्वास व्यक्त गरेका छन् । उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनले स्वशासनको अनुभूति दिलाउँछः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो महिनामै स्थानीय निर्वाचनमा मुलुक अग्रसर हुनु सुखद सन्देश भएकाले त्यसले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन् ।

साथै, उनले समयसीमाभित्रै बाँकी निर्वाचन पनि सम्पन्न भएर नयाँ वर्ष ०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय वर्षका रूपमा अंकित हुने विश्वास पनि व्यक्त गरेका छन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।