सरकारले वैशाखबाट मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क

काठमाडौँ । सरकारले वैशाखबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न एक करोड ५० लाख रुपियाँ छुट्याएको जानकारी दिँदै मन्त्री थापाले आगामी आर्थिक वर्षका लागि फेरि बजेट विनियोजन गरिने जानकारी दिए । सरकारले यसअघि नै मिर्गौला बिरामीका लागि निःशुल्क डायलासिसको व्यवस्था गरिसकेको छ ।

निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि कार्यविधि बनिसकेको जानकारी दिँदै मन्त्री थापाले स्थानीय निकायको सिफारिसको आधारमा निःशुल्क प्रत्यारोपण गरिने बताए ।

स्वास्थ्य मन्त्रालयसँग अहिले धनी, गरिब छुट्याउने मापदण्ड छैन, मन्त्री थापाले भन्नुभयो, गाविस र जिल्लाको निवेदन लिएर आउने सबैको प्रत्यारोपण गरिने बताए ।

मिर्गौलाको प्रारम्भिक परीक्षणका लागि भने सरकारले खर्च नव्यहोर्ने उहाँले जानकारी दिए । मिर्गौला प्रत्यारोपणको लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले निःशुल्क व्यहोर्छ, मन्त्री थापाले भने, नेपालमै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि छ लाखभन्दा बढी लाग्ने भएकाले सर्वसाधारणका लागि यो ठूलो उपलब्धि हो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मन्त्रालयले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको जानकारी दिए ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम अवस्थामा रहेको बताए ।

उनले तयारी भइरहेको भन्दै मन्त्रालयको कार्य योजनाअनुसार वीर अस्पतालमा पनि निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिए । गोरखापत्र