अन्तर्घातीलाई कारबाही, जित्नेलाई टिकटः देउवा

एमालेले राष्ट्रियता कमजोर बनाएको आरोप

कास्की । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा जित्ने उम्मेदवारलाई मात्र पार्टीले टिकट दिने बताएका छन् ।

सभापति देउवाले अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए । सभापति देउवाले भने–‘टिकट दिँदा पार्टीले कुनै भेदभाव गर्नेछैन, जित्न सक्ने योग्य उम्मेदवारले मात्रै टिकट पाउँछ ।’

महाकाली–मेची अभियानअन्तर्गत प्रदेश नम्बर ४ को पोखरामा बुधबार सम्पन्न आमसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

अधिकतम सहमति जुटाएर जिल्लामै उम्मेदवार चयन गर्न निर्देशन दिँदै देउवाले टिकट नपाउनेहरूलाई अरू स्थानमा पनि मौका दिइने बताए ।

सभापति देउवाले कांग्रेसले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जानकारी दिँदै क्षेत्र नम्बर ४ मा रहेको सुकुम्बासी समस्या पनि समाधान गर्ने आश्वासनसमेत दिए ।

उनले स्थानीय निकायको निर्वाचनमा कांग्रेसले जिते हाल दिइँदै आएको वृद्धभत्ता दोब्बर बनाउनेसमेत दाबी गरे । देउवाले मधेस र पहाडका कुरा उठाएर एमाले देश विखण्डन गर्ने काममा लागेको आरोपसमेत लगाए ।

नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले मधेस र पहाडका जनतालाई भड्काएर राष्ट्रियता कमजोर बनाएको आरोप लगाए ।