मधेसी मोर्चामा आबद्ध ६ दलको एकता तयारी

डा. भट्टराई–यादवबीच एकता ‘साताभित्रै’

काठमाडौँ । मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीबीच सम्भवतः वैशाखभित्रै एकता हुनेछ ।

पार्टीको नाम, चुनाव चिह्न, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तीव्र भएको छ । संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच गृहकार्य भइरहेको जनाए । एकतासम्बन्धी छलफल गर्न ६ मधेसवादी दलका शीर्ष नेताहरू शुक्रबार ठाकुर निवासमा जुट्दै छन् ।

अध्यक्ष ठाकुरले भने–‘हिजोमात्रै मधेसबाट फर्कें, म उता भएका बेला पनि एकतासम्बन्धी प्रस्तावित डकुमेन्टहरू इमेलमा पठाउने र त्यसबारे एकअर्काको प्रतिक्रिया माग्ने काम चलिरहेको थियो, हामी अब यसलाई अझै गति दिएर छलफल गर्दैछौं, मोर्चाका घटकबीच पार्टी एकता गर्न मधेसी जनताको दबाब छ, किनकि हाम्रो एजेन्डा र इस्यु एउटै छ ।’

तमलोपा वरिष्ठ नेता हृदयेश त्रिपाठीले त्यसलाई पुष्टि गरे । बुधबार दिउँसो मोर्चा बैठकमा ६ मधेसवादी घटकका अध्यक्ष उपस्थित भए पनि रामसपा अध्यक्ष शरतसिंह भण्डारी उपस्थित थिएनन् । उनी पनि एकता प्रक्रिया टुंगो लगाउनैका लागि बुधबार साँझ काठमाडौं फर्किसकेका छन् ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकता ‘आजको आवश्यकता’ भन्दै मधेसवादी घटकबीच पार्टी एकताका लागि तयारी चलिरहेको बताए । महतोले एकता प्रक्रियाबारे घुमाउरो पारामा उपेन्द्र यादव एकतिर, अरू मधेसवादी नेताहरू अर्कोतिर हुने संकेत गरे ।

सद्भावना अध्यक्ष महतोले भने–‘मधेसका लागि लड्ने एउटै शक्तिशाली पार्टीको आवश्यकता जनताले नै महसुस गरिसकेका छन्, हामी जनताकै भावना सुनेर अघि बढ्न खोजेका हौं, मधेसवादी पार्टीहरू एकअर्कासँग एकता गर्ने कुरामा गम्भीर ढंगले लागिरहेकै छौं ।’

फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव तीन मधेसवादी घटकबीच एकता प्रयासका कारण पछिल्लो समय चर्चामा आएका थिए ।

केही दिनअघि नयाँदिल्लीबाट फर्केका उनले एकता प्रयासलाई अझै फैलाउनुपर्ने उल्लेख गर्दै ६ घटकबीच मात्र नभई मधेस आन्दोलनकै एकीकरण हुने कान्तिपुरलाई बताए ।

मोर्चाका ६ घटकबीच एकता गर्ने चर्चा डेढ वर्षअघि तेस्रो मधेस आन्दोलन सुरुवात गर्ने बेला राजविराज बैठकमै चलेको थियो । त्यस बेला नेतृत्वको वरीयता विवाद लगायतले प्रयास अघि बढ्न सकेको थिएन ।

संविधान बन्नेबित्तिकै माओवादी पार्टी छाडेर नयाँ शक्तिको नेतृत्व लिएका बाबुराम भट्टराईसँग संघीय समाजवादी फोरमको एकता प्रयास अन्तिम चरणमा पुगेको थाहा पाएपछि सबै मोर्चा घटक दबाबमा परेका हुन् ।

मोर्चाका एक नेताले भने–‘मधेसका हरेक जिल्लामा पुग्दा नेताहरूलाई कार्यकर्ता र समर्थकको एउटै प्रश्न हुन्छ तपाईंहरू कहिले एकता गर्ने ?, कूटनीतिज्ञका लञ्च–डिनरमा पुग्दा पनि उही प्रश्न एकै नास आइरहन्छ तपाईंहरू कहिले एकता गर्ने ? उहाँहरूलाई यो दबाब छ ।’

नभन्दै भारतीय राजदूत मन्जिभसिंह पुरीले बुधबार राति लैनचउरमा सातै मधेसवादी घटक अध्यक्षलाई दिएको डिनरमा पनि मधेसवादी एकता चर्चाले सामान्य प्रवेश पाएको थियो ।

राजदूतको डिनरमा सहभागी एक नेताका अनुसार कदाचित ६ घटकमध्ये नेतृत्वको वरीयताका कारण तत्काललाई कुनै दल बाहिर बस्न पुग्यो भने आश्चर्य हुने छैन ।

ठाकुरले एकीकृत हुने दलको नाम, चुनाव चिह्न के हुनेजस्ता विषयमा नेताहरूले आ–आफ्नो दाबी गरिरहेको हँ‘दा एकता अभियानमा ढिलाइ भइरहेको बताए ।

स्रोतका अनुसार अझै पनि रामसपा अध्यक्ष भण्डारीको प्राथमिकता भने संघीय समाजवादी फोरमसितको एकता नै हो । भण्डारीले केही महिनाअघि एक कार्यक्रममा यो कुरा खुलाउँदै नयाँ शक्ति र फोरमसित एकता हुने तयारी भइरहेको बताएका थिए ।

तर फोरम नेतृत्वले भण्डारीसँगको एकतालाई प्राथमिकतामा नराखेपछि उनी अन्यत्र समीकरण बनाउन लागेका हुन्, जसको खुलासा तीन साताअघि सप्तरीमा आयोजित मधेसी मोर्चाको सभामा भण्डारी, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव र तमसपा अध्यक्ष महेन्द्र यादवले एकैसाथ गरेका थिए ।

तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले भने–‘अस्ति नै धेरै कुरा अघि बढिसक्थ्यो, अध्यक्षहरू एक आपसमा बस्न नपाएकाले प्रक्रिया लम्बेको हो, उहाँहरू काठमाडौंमा जुटिसक्नुभएको छ । अब दुई दिनभित्र महत्त्वपूर्ण विषय टुंग्याएर १० दिनभित्रमा अन्तिम रूप दिने तयारी छ ।’

भट्टराई–यादव एकता ‘साताभित्रै’

अर्कोतर्फ नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एक साताभित्र पार्टी एकता भइसक्ने उच्च स्रोतले जानकारी दिएको छ ।

दुई दलबीच वैशाख ६ गते एकता हुने चर्चाबीच पार्टी संयोजक बाबुराम भट्टराईले मिति घोषणा भइनसके पनि एकता प्रयास अन्तिम चरणमा पुगेको बताए ।

दुई दलबीच एकतापछि भट्टराई अध्यक्ष, उपेन्द्र वरिष्ठ नेता र अशोक राई तेस्रो वरीयताका नेता बन्ने समझदारी भएको स्रोतले बतायो ।

तर नयाँ बन्ने पार्टीको नाम के हुने भन्ने टुंगो अझै लाग्न बाँकी छ । नयाँ शक्तिको तर्फबाट निकटस्थसँग प्रस्तावित पाँच नाम पठाइएको छ, जसमा नयाँ राष्ट्रिय पार्टी, नयाँ समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, इन्द्रेणी पार्टी र नया शक्ति फोरम छन् । तीमध्ये पार्टीको नाम नया शक्ति फोरम हुने सम्भावना रहेको स्रोतले बतायो ।

डा. भट्टराईले भने–‘हाम्रो बीचमा एकता प्रयास अन्तिम चरणमा पुगेको साँचो हो, तर तात्विक निष्कर्ष नआउँदासम्म यसबारे सम्पूर्ण कुरा भनिहाल्न सकिन्न, राज्य पुनःसंरचनाको अग्रगामी मुद्दा, समावेशी समानुपातिकता, संघीयताजस्ता विषयमा विचार मिल्नेहरूसँग एकता गर्ने क्रममै यो छलफल भइरहेको हो । परिर्तनका उपलब्धि जोगाउन पनि यो जरुरी भइसकेको छ ।’

एकतासम्बन्धी वार्तामा सहभागी हुने गरेका संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एकताका लागि छलफल चलिरहेको भए पनि तत्कालै टुंगो लागिहाल्ने सम्भावनाबारे खुलेर बताउन मानेनन् ।

उनले संघीयतालगायतका मुद्दा जोगाउनका लागि विचार मिल्नेसँग एकता प्रयास हुनु अनौठो नभएको भन्दै नयाँ शक्तिसँगको एकता सम्भावना स्वीकार गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।