एमालेले मधेस र पहाडबीच झगडा गराउँदै छः देउवा

अब सिंहदरबारको अधिकार जनतामाझ आइसकेको

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडबीच झगडा गराउन नेकपा एमालेले षड्यन्त्र गरिरहेको अरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक संविधानले काठमाडौं र सिंहदरबारमा सीमित रहेको अधिकार गाउँ तथा जनताको हातमा लिएर आएको भन्दै देउवाले आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एकजुट भएर लाग्न सबैसित आग्रह गरे ।

पार्टीकातर्फबाट भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले एमालेमाथि सो आरोप लगाएका हुन् ।सभालाई सम्बोधन गर्दै सभापति देउवाले एमालेले राष्ट्रियताको खण्डित परिभाषा लिएर हिँड्दा राष्ट्रियता कमजोर भइरहेको बताएका हुन ।

देउवाले भने–‘एमाले नेताहरूले पहाडी राष्ट्रवाद भन्दै मधेस र मधेसी समुदायलाई गाली गरेर नेपाली नेपालीबीच झगडा गराउन खोजिरहेका छन्, देशको दक्षिणी सीमाको रक्षा गर्ने मधेसी जनतामाथि अविश्वास गरे त्यो देशकै दुर्भाग्य हुनेछ ।’

उनले भने–‘मधेसी समुदायको भावनाको कदर गर्दै कांग्रेसले संविधान संशोधन प्रस्ताव ल्याए पनि सो प्रस्ताव पास हुन नदिन एमालेका नेताहरूले षड्यन्त्र गर्दै मधेस र पहाडको झगडा हुने गरी अभिव्यक्ति दिँदै हिँडेका छन् ।’

संविधान कार्यान्वयनका लागि ७ माघ ०७४ भित्र नेपालमा तीन तहको निर्वाचन अपरिहार्य रहेको भन्दै नेता देउवाले कार्यकर्तालाई निर्वाचनको वातावरण तयार गर्न निर्देशनसमेत दिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतामा आएको अधिकारलाई संस्थागत गर्ने मौका निर्वाचन भएको भन्दै निर्वाचनबारे कुनै पनि द्विविधा नराख्न आग्रह गरे ।

उक्त सभामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, दीपक गिरी, रामकृष्ण ताम्राकार, भरत शाह, अब्दुल रज्जाकलगायतका नेताले मन्तव्य राखेका थिए ।