स्वास्थ्य बिमा विधेयक संसद्मा पेस गर्ने निर्णय

काठमाडौँ । सरकारले नेपाली सेनालाई सैन्य प्रयोजनका लागि आवश्यक पर्ने जहाज खरिद गर्न दिने निर्णय गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सैनिक तथा सैन्य सामग्रीहरू ओसारपसार गर्ने जहाज खरिद गर्न दिने निर्णय गरेको हो ।

बैठकले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णयलाई पनि औपचारिक रूपमा पारित गरेको छ । मन्त्रिपरिषद्ले प्रहरीको निर्णयलाई औपचारिकता मात्र दिएको हो ।

बैठकले शिक्षा नियमावलीलाई मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णय पनि गरेको छ । समितिले अध्ययन गरेर पारित गरेपछि यो पुनः मन्त्रिपरिषद्मा आउनेछ ।

त्यसपछि पारित भएमा नियमावली लागू हुनेछ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार बैठकले सबै नागरिकलाई स्वास्थ्य बिमा गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै काठमाडौँको पर्यावरणको स्तर सुधार गर्न मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा सम्बन्धित मन्त्रालयहरूका सचिवहरू रहने गरी कार्यदल पनि गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सप्तरी घटनामा परी मृत्यु भएका इन्दल यादवको परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । सरकारले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी नियमावली संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी सरकारले चीनको ल्हासामा बन्न लागेको महावाणिज्य दूतावासको भवनमा चीन सरकारको आर्थिक सहायता लिने अधिकार त्यहाँकै महावाणिज्य दूतावासलाई दिने निर्णय पनि गरेको छ । यस्तै भोजपुर, तेह्रथुम लगायतका जिल्लामा आगलागीको क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । गोरखापत्र